बिर्तामोड / सरकारले तीन महिनाका लागि उत्खनन्मा प्रतिबन्ध लगाएको समयमा समेत बिरिङ नदी दोहन भएको भन्दै झापाको अर्जुनधाराका युवा आन्दोलित भएका छन् ।

उनीहरूले अर्जुनधारा नगरपालिका वडा नं. १ को कार्यालयमा नदी दोहन नियन्त्रण गर्नका लागि ध्यानाकर्षणपत्र बुझाएका छन् ।  नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई बोधार्थ दिइएको पत्रमा रातको समयमा गैरकानूनी रूपमा नदी दोहन भइरहेको उल्लेख छ ।

बिरिङ नदीमा ठूला–ठूला खाडल बनाएर खोलाजन्य सामग्री उत्खनन् गरिएका कारणले नदी किनारामा रहेका खेतीमा सिंचाइको असुविधा भएको, १० फिटसम्मको गहिरो खाडलमा पानी जमेका कारण दुर्घटनाको जोखिम बढेको, खानेपानीको स्रोत सुक्न थालेको लगायतका समस्या उत्पन्न भएको पत्रमा उल्लेख छ ।

प्रशासनले नदीजन्य सामग्रीको दोहन नियन्त्रण नगरे आफूहरू सशक्त प्रतिकारमा उत्रिने चेतावनी पनि पत्रमा दिइएको छ । सरकारले असार, साउन र भदौ महिनाका लागि देशभरका खोलानालाबाट नदीजन्य सामग्री उत्खनन्मा रोक लगाउँदै आएको छ ।