यासोक/  पाँचथरको कुम्मायक गाउँपालिकामा कृषिउपज तथा पशुपक्षी सङ्कलन केन्द्रको ४ कोठे पक्की भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ  । 

गाउँपालिका–५ स्थित निगाले कृषि सहकारी संस्थाको भवन निर्माणको काम ८० प्रतिशत पुगेको हो । भवन निर्माणको लागि २९ लाख १० हजार रकम जुटेको थियो । कोरोना भाइरसको महामारीकै बीच संस्थाले स्रोतकेन्द्रको भवन निर्माण कार्य अघि बढाएको हो ।

भवन निर्माणको लागि कुम्मायक गाउँपालिकाको १० लाख, कृषि ज्ञान केन्द्र पाँचथरको ५ लाख १० हजार, भेटेरिनरी अस्पतालको ४ लाख त्यस्तै संस्थाको आन्तरिक स्रोत ५ लाख  र दाताहरूको ५ लाख गरी २९ लाख १० हजार रकमबाट भवन निर्माणको काम अघि बढेको संस्थाका अध्यक्ष महेन्द्रबहादुर खड्काले बताए ।

यसैबीच बिहीबार कृषि ज्ञान केन्द्र पाँचथर–ताप्लेजुङका प्रमुख सागर विष्टसहितको प्राविधिक टोलीले भवनको अनुगमन र निरीक्षण गरेको छ । टोलीले भवन निर्माणको अवस्था, कार्यालयबाट सञ्चालन हुँदै आएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तला ब्लक विकास कार्यक्रमको अवस्थाको विषयमा जानकारी लिएको थियो । संस्थामा हाल सुन्तला ब्लक कार्यक्रम र भेटेरिनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र पाँचथरको बृहत्तर बाख्रा पकेट प्याकेज कार्यक्रम सञ्चालन हुँदै आएको छ ।