मंगलबार राति भएको खेलमा  स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै इटाली युरो २०२० को फाइनलमा प्रवेश गरेको छ । इटाली सन् २०१२ पछि युरो कपको फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटमा अतिरिक्त समय थपिएको थियो । जसमा पनि कुनै गोल हुन सकेन । 

खेलको अतिरिक्त समयमा इटालीका गोलकिपर डोनारुम्माले उत्कृष्ट आफ्नो टिमको संकट टारेका थिए ।

९८ मिनेटमा स्पेनका ओल्मोको प्रहारलाई उनले विफल पारेका थिए ।

११० मिनेटमा इटालीका बेरारीले बललाई जाली चुमाए पनि अफसाइड भएको थियो । 

त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इटालीले पहिले अग्रता लिएको थियो ।

इटालीका लागि फेडेरिको चिएसाले ६० मिनेटमा गोल गरेका थिए। उनले इमोबिलको पासमा गोल गरेका थिए । 

त्यसअघि इटालीका इमरसनको प्रहार बारमा लाग्दा टिमले अग्रता लिने अवसर गुमाएको थियो । 

खेलको ८० मिनेटमा स्पेनले बराबरी गोल फर्काउन सफल भयो । स्पेनका लागि अल्भारो मोराटाले बराबरी गोल गर्न सफल भए । 

मोराटालाई गोल गर्न ड्यानी ओल्मोले पास उपलब्ध गराएका थिए । मोराटा खेलको ६२ मिनेटमा फेरान टोरेशको स्थानमा मैदान छिरेका थिए । 

स्पेनका ड्यानी ओल्मोले पनि पहिलो पेनाल्टीमा गोल गर्न सकेनन् ।  उनको प्रहार आकासिएको थियो । यस्तै अल्भारो मोराटाको चौथो प्रहारलाई इटालीका गोलकिपर दोनारुमाले विफल पारिदिएका थिए । 

पेनाल्टीमा इटालीका बेलोटी, बोनुची, फेडेरिको बेमारडेची र जोरगिन्होले गोल गरे ।

यस्तै स्पेनका मोरोनो र अल्कानटाराको प्रहार मात्र सफल हुन सक्यो ।

अब उपाधिका लागि इटालीले डेनमार्क वा इंग्ल्यान्ड मध्ये एक टिमसँग आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ । 

इटालीको कीर्तिमान

जितसँगै इटालीले आफ्नो अपराजित खेल संख्या ३३ खेलसम्म लम्ब्याउँदै नयाँ राष्ट्रिय रेकर्ड बनायो । यो इटाली सर्वाधिक खेलमा अपराजित रहेको खेल संख्या हो । 

युरो २०२० को समूह चरणमा शतप्रतिशत जित निकालेसँगै इटालीले अन्तर्राष्ट्रिय खेलमा आफ्नो अपराजित खेल संख्या ३० पु¥याएको थियो । जससँगै इटालीले अपराजित खेल संख्यामा आफ्नो राष्ट्रिय रेकर्डसँग बराबरी गरेको थियो ।

अन्तिम १६ मा अस्ट्रियलाई हराएपछि इटालीले नयाँ रेकर्ड बनाएको थियो। जुन रेकर्ड क्वार्टरफाइनलमा बेल्जियम र सेमिफाइनलमा स्पेनलाई हराएसँगै भंग भयो ।

अहिले इटालीले सेप्टेम्बर २०१८ मा पोर्चुगलसँग पराजय भोगेपछि खेलेका ३३ अन्तर्राष्ट्रिय खेलमा हारेको छैन । 

१० अक्टोबर २०१८ मा पोर्चुगलसँग १–० गोलले पराजित भएपछि इटालीले २८ खेलमा जित हात पारेको छ भने ५ खेलमा बराबरीमा रोकिएको छ ।

यस्तै इटालीले सन् २०२१ मा खेलेका सबै खेलमा जित हात पारेको छ। इटालीले सन् २०२१ मा ११ खेल खेलेको छ।  इटालीले ती खेलमा २९ गोल गरिसकेको छ ।अपराजित खेल संख्याको रेकर्ड भने ब्राजिल र स्पेनको संयुक्त नाममा छ । दुवै टिमले लगातार ३५ खेलसम्म पराजय भोगेका थिएनन्। 

लगातार ३३ खेलमा अपराजित इटाली दोस्रो स्थानमा अब इटाली छ ।