आजदेखि यही असार २५ गतेसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बूढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकीलगायतमा पानीको बहाव उल्लेख्य बढ्नेछ । केहीमा सतर्कता तह पार गर्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, सप्तकोसी र यसका सहायक नदीहरू सुनकोसी, भोटेकोसी, तामाकोसी, दूधकोसी, अरुण तमोरलगायतमा बहाव बढ्नेछ । केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

तिनाउ, कन्काई, कमला, वाग्मती र यिनका सहायक नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पाँचवटा प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, प्रदेश १ मा अति भारी वर्षा हुने

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

प्रदेश  १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ का केही स्थान धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

भारी र धेरै भारी वर्षाको सम्भावना रहेका प्रदेशको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् अर्यालको आग्रह छ ।

आज राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैबीच, काठमाडौंमा १२ बजेपछि वर्षा हुने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्याल बताउँछन् । ‘काठमाडौंमा पनि आज वर्षा हुने छ । दिउँसो १२ बजे पछि सामान्यदेखि भारी वर्षाको सम्भावना देखिन्छ,’ उनी भन्छन् ।  काठमाडौंमा आज अधिकतम तापक्रम २७–२९ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् अर्यालले जानकारी दिए ।