विराटनगर / प्रदेश नम्बर–१ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रामबहादुर रानाले भनाइमा प्रांगारिक र विषरहित भन्ने गरिए पनि सरकारले अभियान चलाउँदा कार्यक्रमप्रति किसान नै उदासीन हुने गरेको बताएका छन् ।
‘हामी धनकुटासहितका जिल्लामा प्रांगारिक अभियान तथा सहयोगका कार्यक्रम लिएर पुग्यौँ । तर, किसान अनि सहकारी कसैले एउटा निवेदन पनि हालेन्,’ मन्त्री रानाले भने, ‘सबैले जमिनको स्वास्थ्य बिग्रिएको छ भन्छन् । विषादी प्रयोग भएको सागसब्जी खाँदा हाम्रो पनि स्वास्थ्य बिग्रिएको छ । क्यान्सरजस्ता रोग बढेको भनिन्छ, तर निवेदन हाल्न सहकारी पनि आएनन् ।’
मानिसले खानासँगै खाने ‘विष’बाट विभिन्न समस्या निम्तिएको उनले उल्लेख गरे । ‘तर, हामी प्रांगारिकतर्फ जान कति उत्साहित भएका छौँ ? छिटो नाफा कमाउने अभ्यास छ । हावापानीको पनि स्वास्थ्य बिग्रिएको छ । प्रांगारिक अभियान सञ्चालन गरिएको छ । तर, त्यो पर्याप्त छैन,’ उनले भने, ‘रासायनिकतर्फ गएको गतिलाई पोजिटिभतर्फ ल्याउन निक्कै कठिन छ ।’
प्रदेश–१ मा धान बढी उत्पादन हुने गरेको तर गहुँको उत्पादन घटेको उनले जानकारी दिए । ‘मकैको बढेको छ । दानाको कच्चापदार्थको रुपमा प्रयोग हुने गर्नाले उत्पादन बढेको हो । मकै र भटमास बाहिरबाट आउँछ । ल्याउँदा पैसा बाहिरिन्छ । मकैको उत्पादन प्रवर्द्धन गर्नुपरेको छ । तर, मकै यो बर्खामा भाँच्दा बढी मूल्य किसानले पाएका छैनन् ।’ उनले भटमासको उत्पादन दाना उद्योगलाई हुने गरी हुन नसकेको बताए ।
मासुको उत्पादन आत्मनिर्भरभन्दा माथि रहेकाले खसी र बंगुर बाहिर जाने गरेको बताउँदै उनले माछाको ६० प्रतिशत माग स्थानीय उत्पादनले धानेको सुनाए । निर्यातको वस्तु बनाउन मिहिनेत र लगानी उत्तिकै चाहिने भन्दै उनले तरकारीका कतिपय उत्पादन विदेश जाने गरेको बताए ।
विनियोजित बजेट तथा कार्यक्रमको विषयमा प्रदेशसभामा सांसदहरुले उठाएका प्रश्नको बुधबार जवाफ दिने क्रममा उनले प्रांगारिक कृषि प्रणालीप्रति जागरुकता बढाउन खोज्दा समेत उत्साह नदेखिएको बताए ।
अहिले किसानले उत्पादन गर्ने दूधको परिमाण बढेको तर त्यो बिक्री हुन कठिन भएको उनले बताए । दूध पाउडर बनाएर राख्न सकिने तर ठूलो परिमाणमा त्यो हुन नसक्दा किसानले दूध फ्याँक्नुपर्ने अवस्था आएको उनले बताए ।