पाँचथरको फाल्गुनन्द गाउँपालिकाको आफ्नै विशिष्ट पहिचान छ । फाल्गुनन्द गाउँपालिका नेपालका १६ औं राष्ट्रिय विभूति, बिसौं शताब्दीका महान् समाजसुधारक, महागुरु फाल्गुनन्दले तपजप गरेको, समाजसुधारका विभिन्न कर्महरू गरेको र उनको समाधिस्थलसमेत रहेको पवित्रभूमि हो । त्यसैले पछिल्लो राज्यपुनर्संरचनाको क्रममा यस पालिकाको नाम फाल्गुनन्द राखिएको गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङ्देम्बेको भनाइ छ । सातवटा वडा रहेको फाल्गुनन्द गाउँपालिका करिब १०७.५३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार फाल्गुनन्द गाउँपालिकाले पाँच हजार २ सय ७८ घरधुरी र २१ हजार २ सय ८९ जनसङ्ख्यालाई अटाएको छ ।
पाँचथरका आठ स्थानीय तहहरूमध्ये फाल्गुनन्द गाउँपालिका पर्यटकीय दृष्टिकोणले विशेष र महत्वपूर्ण छ । खासगरी फाल्गुनन्दको पर्यटनमा प्रकृति र मुन्धुमको बेजोड संयोजन भेटिन्छ । प्राकृतिक रूपले अत्यन्तै सुन्दर र मनमोहक पहाड, पर्वत, भञ्ज्याङ चौतारी र लेकबेँसीले सुसज्जित फाल्गुनन्दमा अवस्थित मानव सभ्यताको विकासक्रमसँग जोडिएका मुन्धुमी स्थलहरूले यसको गरिमा र महिमालाई अझ उच्च बनाएका छन् । त्योसँगै बहुसंस्कृति, अध्यात्म र कला–साहित्यमा समेत फाल्गुनन्द गाउँपालिकाको विशिष्ट स्थान छ । कोशी प्रदेशको समृद्धिको मेरुदण्ड मानिएको भेडेटार–रवि–राँके सडकको राँके बजारदेखि उत्तरेसम्मको साढे ११ किलोमिटर सडक–खण्ड फाल्गुनन्दमा पर्छ । यसले यहाँको कृषि, अर्थतन्त्र र ग्रामीण पर्यटनको विकासमा ठूलो महŒव राख्नेछ । यहाँ प्राकृतिक सुन्दरता र मुन्धुमी महत्व बोक्ने फाल्गुनन्द गाउँपालिकाका मुख्य मुख्य पर्यटकीय गन्तव्यहरूको सन्दर्भमा संक्षेपमा चर्चा गरिएको छः
फाल्गुनन्द समाधिस्थल नाम्भुनयक्/सिलौटी
पूर्वकै प्रख्यात धार्मिक पर्यटकीय गन्तव्यको रूपमा परिचित नाम्भुनयक् अर्थात् सिलौटी डाँडा फाल्गुनन्द–२ इम्बुङ र वडा नं.३ पौवासारतापको शिरमा अवस्थित छ । फिदिम नगरपालिकाको समेत सीमावर्ती क्षेत्र सिलौटीमा नेपालका राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको समाधिस्थल रहेको छ । त्यसैले यहाँ देश–विदेशबाट किरात धर्मावलम्बीसँगै अन्य श्रद्धालु भक्तजनहरू महागुरु समाधिस्थलको दर्शन गर्न आउने गर्दछन् । सिलौटी मेचीमार्गको इलाम–फिदिम खण्ड अन्तर्गत पौवाभञ्ज्याङ बजारबाट तीन किलोमिटरको दूरीमा रहेको छ । समुद्री सतहबाट करिब दुई हजार ७ सय २१ मिटर उचाइमा अवस्थित सिलौटीबाट कञ्चनजङ्घा, कुम्भकर्ण हिमशृङ्खलादेखि सुन्दर पहाडी डाँडाकाँडासँगै पूर्वी तराईको समथर भू–भागसम्मका दृश्यावलोकन गर्न सकिन्छ । महागुरु फाल्गुनन्दले समाज सुधारका कर्महरू गरेको र समाधिस्थल रहेको भूमि भएकाले स्थानीय पालिकाको नामसमेत फाल्गुनन्द गाउँपालिका राखिएको हो ।
मनमोहक बत्तिसे झरना
पाँचथरकै उत्कृष्ट पर्यटकीय गन्तव्यहरूमध्ये एक हो, बत्तिसे झरना । यो फाल्गुनन्द गाउँपालिका–३ निभुखोलामा रहेको छ । मेचीमार्गको राँके–गुम्बाडाँडा खण्डको बीचमा पर्ने निभुखोला पुलबाट करिब दश मिनेटको पैदल यात्रापछि बत्तिसे झरना पुगिन्छ । ३२ मिटरमाथिबाट निर्झर झरिरहने झरनाले यहाँ पुग्ने पर्यटकलाई मोहित बनाउँछ । झरनालाई नजिकबाट नियाल्न सकिने गरी कोशी प्रदेश सरकारको लगानीमा निर्माण गरिएको झोलुङ्गे पुलले पर्यटक आकर्षित गर्ने गरेको छ । प्रदेश सरकार र स्थानीय तहको संयुक्त लगानीमा झरनासम्म पुग्न दुईवटा पुल र सिँढीमार्ग निर्माण गरिएका छन् । झरनानजिकै रहेको बत्तिसे रिसोर्टमा मौलिक घर, मिनी जु, सेल्फी जोनलगायत आकर्षक संरचना छन् । स्थानीय प्रेम नेम्बाङले सञ्चालन गरेको बत्तिसे रिसोर्टमा लोकल कुखुराको सुप, तोङ्बा, सुकुटी, रिसोर्ट एरियामै उत्पादित अर्गानिक आलु, गुन्द्रुक, सिन्की, मकै, भटमास जस्ता खानेकुरा उपलब्ध छन् ।
कुहिरोभित्र लुकामारी खेलिरहने राँके
राँके बजार फाल्गुनन्द गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र हो । इलाम–पाँचथर सीमावर्ती क्षेत्रमा पर्ने यो बजारको धेरै भाग फाल्गुनन्द गाउँपालिकामा पर्छ । राँके यहाँको पुरानो पर्यटकीय केन्द्र पनि हो । बाह्रैमास चिसो हुने यो लेकाली बजार कुहिरोको घुम्टोभित्र लुकामारी खेलिरहन्छ । कुहिरो र घामको लुकामारी राँके पुग्ने आगन्तुकलाई रोमाञ्चक लाग्छ । मेचीमार्गको पहुँचमा रहेको राँके, भेडेटार–रवि–राँके सडकको अन्तिम विन्दु पनि हो । राँकेमा स्थानीय उत्पादनको लोभलाग्दो व्यापार देख्न सकिन्छ । यहाँ स्थानीय स्तरमा उत्पादित अकबरे, किबी, आलु, सागसब्जी, गैंठे, चिज, नौनी, ललिपप जस्ता दुग्धजन्य उत्पादन र याङ्बेन (झ्याउ), टिमुर, चिम्फिङ, खानाक्पा जस्ता जडीबुटीजन्य वस्तु पाइन्छ । फाल्गुनन्द–२ का वडाध्यक्ष तथा राँके बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष सन्तोष नेम्वाङका अनुसार वि.सं. २०४५ देखि बजारीकरण हुन थालेको राँकेमा हाल १ सय ५० भन्दा बढी पसल, होटल र अन्य व्यवसाय सञ्चालनमा छन् । यहाँ हरेक वर्षको साउन २ गते राँके मेला लाग्छ ।
सूर्योदय दृश्यावलोकनको लागि नेब्चोक डाँडा
नेब्चोक डाँडा फाल्गुनन्द गाउँपालिकाको प्रचुर पर्यटकीय सम्भावना बोकेको स्थल हो । भेडेटार–रवि–राँके सडकको पहुँचमा रहेको घुर्बिसे पञ्चमी बजारदेखि नजिकैको नेब्चोक डाँडाबाट इलामको श्रीअन्तुबाट देखिएको जस्तै सुन्दर सूर्योदयको दृश्य देखिने स्थानीय सञ्चारकर्मी युद्धबहादुर बोहोराले बताए । पछिल्लो समय गाउँपालिका र स्थानीय नेब्चोक डाँडाको प्रचार प्रसारका साथै पर्यटन प्रबद्र्धनमा जुटेका छन् । नयाँ वर्ष २०८३ को अवसरमा यहाँ प्रथम नेब्चोक महोत्सव आयोजना गरिएको फाल्गुनन्द गाउँपालिका–५ का वडाध्यक्ष विष्णुकुमार चेम्जोङले बताए । महोत्सवलाई निरन्तरता दिने र नेब्चोक डाँडाको थप पर्यटन प्रवद्र्धनको लागि निरन्तर प्रयत्न गरिने बताइएको छ ।
केसामी नाम्सामीको मिथकसँग जोडिएको सेहो?नाम्लाङ
याक्थुङ (लिम्बू) जातिले जीवन दर्शनको रूपमा लिने मुन्धुममा वर्णित अति पवित्र र महŒवपूर्ण स्थल हो, सेहो?नाम्लाङ । फाल्गुनन्द गाउँपालिकाको वडा नं. ५, ६ र ७ मा पर्ने सेहो?नाम्लाङ छिमेकी पालिका मिक्लाजुङ र कुम्मायकको समेत सीमावर्ती क्षेत्रमा पर्दछ । मुन्धुममा वर्णित कथाअनुसार आदिम स्त्री तिगेन्जङ्नाले दुई जुम्ल्याहा सन्ताहरू जन्माउँछिन्, केसामी (बाघ) र नाम्सामी (मनुष्य) । यी दाजुभाइ सानोमा अति मिले पनि उमेर बढ्दै जाँदा उनीहरूबीच वैमनश्यता बढ्छ । एकदिन उनीहरूबीच युद्ध नै हुन्छ । जसमा मनुष्य नाम्सामीले विवेकपूर्वक दाजु केसामीलाई मारिदिन्छ । त्यसपछि आमाको सल्लाह अनुसार नाम्सामीले केसामीको छाला उप्काएर हिमाल, पहाड, मधेश सबैतिर सुकाउँछ, तर कतै सुक्दैन ।
अन्त्यमा, यो डाँडामा ल्याएर सुकाउँदा मात्र सुक्छ । कतिपयले त्यसैबाट नाम्सामीले केः अर्थात् च्याब्रुङ निर्माण गरेको समेत बताउँछन् । नाम्सामीले केसामीको छाला सुकाएको भनिएको स्थानमा अझैसम्म पनि कुनै वनस्पति नउम्रिएको देख्न सकिन्छ । यही सेहो?नाम्लाङ डाँडालाई छालासुकुवा समेत भन्ने गरिएको छ । यहाँ पुग्न भेडेटार–रवि–राँके सडकको उत्तरे बजारदेखि उत्तरे–यासोक सडकको तीन किलोमिटर दूरीमा रहेको सुलुम्फी बजारबाट एक किलोमिटर उकालो पैदल हिँड्नुपर्छ । सेहो?नाम्लाङको पर्यटन प्रबद्र्धनको लागि हरेक वर्ष नयाँ वर्षको अवसर पारेर सेहो?नाम्लाङ सांस्कृतिक पर्यटन महोत्सव आयोजना गरिँदै आएको छ भने यसको विकासमा कोशी प्रदेश सरकारले समेत लगानी गरिरहेको छ ।
केसामी नाम्सामी वरक र साप्सु
फाल्गुनन्द गाउँपालिका–४ दोखुवा भन्ने स्थानमा रहेका केसामी नाम्सामी वरक् मुन्धुममा अति महŒवकासाथ वर्णन हुने दुई स–साना कुण्डहरू हुन् । याक्थुङ (लिम्बू) भाषामा वरक् भनेको सानो जलाशय, पोखरी, कुवा वा कुण्ड भन्ने हुन्छ । केसामी नाम्सामी वरक् ठूलो ढुङ्गाको खोपिल्टामा रहेका छन् । आदीम स्त्री तिगेन्जङ्ना आफ्ना दुई माइतीहरूसँग शिकार खेल्दै जाने क्रममा यो ठाउँमा पुग्दा तिर्खाले आकुलव्याकुल बनी यी खोपिल्टाका पानी पिएर प्यास मेटाएको मिथक छ । तर ती वरक्का पानी वास्तविक पानी नभएर एउटा मानिस र अर्को बाघको पिसाब भएको र त्यसैबाट उनले गर्भधारण गरी जुम्ल्याहा सन्तान केसामी (बाघ) र नाम्साी (मनुष्य)को जन्म दिएको कथा छ । आजसम्म पनि त्यसै रहेका केसामी नाम्सामी वरकको पानी कहिल्यै नसुक्ने स्थानीय बताउँछन् । नजिकै साप्सु (बालकन्या) देवी रहेकी छन् । यहाँ ढुङ्गाको कापबाट निस्कने कहिल्यै नबढ्ने र नघट्ने सानो तिरतिरे धारो छ । यसले नुहाए छालासम्बन्धी रोगव्याधी निको हुने जनविश्वास छ । फाल्गुनन्द–२ मा पर्ने यस स्थानमा माघ १ गते मेला लाग्छ ।
स्थानीय युवाहरूको प्रयासले गुल्जार बनेको तिजोक
फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा पर्ने तिजोक डाँडाले पछिल्लो समय पर्यटकीय गन्तव्यको चिनारी बनाएको छ । दुई वर्ष अघिसम्म बेलाबखत मानिस पुग्ने तिजोक अहिले हरेक दिन गुल्जार बन्ने गरेको छ । स्थानीय युवाहरूको सक्रियतामा तिजोक पर्यटन प्रवद्र्धन विकास क्षेत्र नामक संस्था स्थापना गरी बहुसांस्कृतिक पार्कको अवधारणा अनुरूप पर्यटकीय संरचनाहरू निर्माण गरिएपछि तिजोक आन्तरिक पर्यटकहरूको रोजाइमा परेको हो । तिजोकमा याक्थुङ (लिम्बू) संस्कृतिसँग सम्बन्धित सिलाम साक्मा र केः (च्याब्रुङ) स्तम्भ, मगर संस्कृतिसँग सम्बन्धित खुर्पेटोको स्तम्भ, तामाङ संस्कृतिसँग सम्बन्धित डम्फूको स्तम्भलगायतका अन्य मनोरञ्जनका संरचनाहरू निर्माण गरिएका छन् । निकट भविष्यमै तिजोक नामकरणको किंवदन्तीसँग जोडिएको तिः अर्थात् माउ बेत बाँस, आर्य संस्कृतिसँग सम्बन्धित शङ्ख, किरात राई संस्कृतिसँग सम्बन्धित चिण्डो र दलित शिल्पीहरूको कला झल्काउने नर्सिङ्गाको पनि स्तम्भ राखिने तिजोक पर्यटन प्रवद्र्धन विकास क्षेत्रका अध्यक्ष राज दिलाञ्जलीले बताए ।
अन्यमा,
प्रकृति, मुन्धुम, संस्कृति र अध्यात्मको सङ्गममा फुलेको फाल्गुनन्द गाउँपालिकामा पर्यटनको ठूलो सम्भावना छ । माथि चर्चा गरिएका बाहेक पनि यहाँ तीनचुले, एकचुले, फाकुम पोखरी, गुम्बा डाँडा, देउराली, पुधाम्लुङ जस्ता अन्य पनि थुप्रै पर्यटकीय महत्वका स्थलहरू रहेका छन् । भू–विक्रम नेम्वाङको नेतृत्वमा २०१७ मा गोरिल्ला युद्धको अभ्यास गरिएको सुकेपोखरी, पौवाभञ्ज्याङ र चर्चित पर्यटकीयस्थल पाटेनागी–कुइभीर क्षेत्रसमेत फाल्गुनन्द गाउँपालिकाको सीमावर्ती क्षेत्र पर्छ । गाउँपालिकाले यी पर्यटकीय क्षेत्रहरूको थप प्रचार–प्रसार र प्रवद्र्धन गर्नसके पर्यटन क्षेत्रबाट ठूलो लाभ लिन सक्नेछ ।